नेभिगेशन
वाल आवाज

विज्ञान तथा प्राविधिक शिक्षा सञ्चालनका लागि त्रिपक्षीय सम्झौता, विद्यार्थीलाई छात्रवृत्ति र शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गरिने

सिमकोट,    सदरमुकाय सिमकोटस्थित मानसरोवर माध्यमिक विद्यालयमा विज्ञान विषय तथा प्राविधिक संकाय सञ्चालनसँगै गुणस्तरीय शिक्षाको अभिवृद्धि गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रोकायाको अध्यक्षता तथा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सिमकोट गाउँपालिका, आधार विकास नेपाल र मानसरोवर माध्यमिक विद्यालयबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, आधार विकास नेपालका शिक्षा अधिकृत कञ्जोक लामा र मानसरोवर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आधार विकास नेपालले कक्षा ११ र १२ मा सरकारी अनुदानबाट नियुक्त विज्ञान विषयका माध्यमिक तहका शिक्षकलाई विषयको पाठ्यभार, समय र कठिनाइलाई मध्यनजर गर्दै थप शिक्षण प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।  साथै आर्थिक वर्ष २०८३÷८४ को साउन महिनादेखि कक्षा ११ र १२ मा विज्ञान संकाय तथा कृषि र शिक्षा संकायका ऐच्छिक अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्ययन गर्ने विद्यार्थीलाई आकर्षित र विद्यालयमै टिकाइ राख्न आवश्यकताअनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

सम्झौतामा उच्च शिक्षाका लागि विद्यार्थी जिल्ला बाहिर जाने प्रवृत्ति न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाको संरक्षण तथा विकासका क्षेत्रमा सचेतना अभिवृद्धि, संयन्त्र निर्माण र सशक्तीकरणमा सक्रिय रहने तथा आधार विकास नेपालबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले सम्झौता र आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छात्रवृत्ति अन्तर्गत छात्रलाई प्रतिमहिना ४ हजार ५ सय रुपैयाँ र छात्रालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै फिजिक्स, केमेस्ट्री र बायोलोजी विषयका शिक्षकलाई प्रतिविषय ५ हजार ५ सय रुपैयाँ, अङ्ग्रेजी र गणित विषयका शिक्षकलाई ४ हजार रुपैयाँ तथा नेपाली विषयका शिक्षकलाई ३ हजार ५ सय रुपैयाँ प्रोत्साहन सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ ।

सिमकोट गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने, नियमित अनुगमन, मूल्याङ्कन तथा सुधारका कार्य अघि बढाउने, सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने तथा विज्ञान तथा प्राविधिक शिक्षाका लागि आवश्यक प्रयोगशाला र पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै, मानसरोवर माध्यमिक विद्यालयले शिक्षकहरूको प्रत्यक्ष अनुगमन तथा निरीक्षण गर्ने, गाउँपालिकाबाट उपलब्ध हुने थप आर्थिक सहयोग सम्बन्धित शिक्षकलाई विद्यालयमार्फत भुक्तानी गर्ने, आवश्यक विषयमा अतिरिक्त ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकको सक्रिय सहभागिता बढाउने तथा आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने जिम्मेवारी लिएको छ । 

कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुषिला रोकाया, वडा नं. ६ का अध्यक्ष नन्द रावत, वडा नं. ८ का अध्यक्ष कमल बुढा, शिक्षा अधिकृत कृष्ण आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, आधार विकास नेपालका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्बन्धित पक्षहरूले यस सम्झौताले हुम्लामा विज्ञान तथा प्राविधिक शिक्षाको विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बोल्ने बक्ताले गरेको थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै