सिमकोट । हिमाली जिल्ला हुम्लाका स्याउलाई बजार ल्याउन आगामी भदौ पहिलो साता कुर्नु पर्ने भएको छ ।
जिल्लामा फल्ने स्याउ रसयुक्त नुहदै विक्रि वितरण गर्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको हो ।
काँचै स्याउ बजारमा आउन थालेपछि कृषि विकास कार्यालय हुम्लाले जिल्लाको समन्वय बैठकको आयोजना गरेरै भदौंको दोस्रो साता भन्दा यता स्याउँ विक्रि वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
रस नभरिएको, नपाकेको काँचो स्याउ जिल्ला भन्दा बाहिर पुग्दा हुम्लाको उत्पादनप्रति उपभोक्ताको विश्वासमा असर पर्न सक्ने भन्दै अब पाकेको र गुणस्तरीय स्याउ मात्रै जिल्ला बाहिर नपठाउने निर्णय गरिएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणमणी पन्तले जानकारी दिए ।
‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कार्यालय प्रमुख पन्तले थपे, ‘त्यसअघि नै पाक्ने जातका कुनै स्याउ पनि कृषकले लगाउनु भएको रहेछ भने सम्बन्धित गाउँपालिका र कृषि विकास कार्यालयबाट खटिएका कृषि प्राविधिकको सल्लाह र सिफारिसका आधारमा मात्रै स्याउँलाई बजार वा जिल्ला बाहिर पठाउन सकिने निर्णय भएको छ ।’
मंगलबार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको अध्यक्षतामा बसेको बैठकले जिल्लाका स्याउ निर्यातका लागि सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाबाट तोकिएको ढाँचामा अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित कृषि प्राविधिकले सिफारिस गर्दा वुटामा भएको स्याउको गुलियोपना परीक्षणलाई मुख्य आधार बनाइनेछ बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ । जुन कामका लागि जिल्लाका सातटै स्थानीय तहका कृषि शाखा र कृषि विकास कार्यालयमार्फत खटिएका कृषि प्राविधिकलार्य रिफ्र्याक्टोमिटर उपलब्ध गरनइने निर्णय भएको हो ।
जिल्लाका सरोकारवाला निकायको उपस्थितीमा आयोजित बैठकले जिल्लाको स्याउ बाहिर निर्यात गर्दै गरेको कुनै सवारीसाधनमा काँचो स्याउ भेटिएमा त्यसलाई तत्काल बाहिर पठाउन नदिई भण्डारणमा राखेर पुनः परीक्षण गरिने निर्णय समेत गरेको छ । परीक्षणपछि मात्रै मापदण्ड पूरा गरेको पुष्टि भए मात्र आवश्यक सिफारिस सहित निर्यात गर्न दिइने कृर्षि विकास कार्यालयका प्रमुख पन्तले जानकारी दिए ।
उनका अनुसार जिल्लाबाट स्याउ बाहिरिने प्रमुख नाकामध्ये ताँजाकोट गाउँपालिका–१ को मैला कवाडी र चंखेली गाउँपालिकाको देउली नाकामा कार्यरत नेपाल प्रहरीसँग आवश्यक समन्वय गरी बैठकको निर्णय कडाइका साथ कार्यान्वयन गर्न परिपत्र समेत गरिने छ ।
बैठकले जिल्लाका स्याउलाई व्यावसायिक हिसाबले बाहिर पठाउँदा स्याउका कार्टुनमा हुम्लाको पहिचान खुल्ने विवरण अनिवार्य राख्ने व्यवस्था गरिएको छ । किसानको माग अनुसार आवश्यक कार्टुन कृषि विकास कार्यालय हुम्ला तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको कार्यक्रम कार्यान्वयन एकाइ हुम्लामार्फत मात्र उपलब्ध गराइने छ । जसबाट विगतका वर्षमा पनि कार्टुनहरु उपलब्ध गराइदैं आइएको थियो ।
जिल्लाका रािष्ट्रय सडक सञ्जालमा जोडिएसँगै जिल्ला बाहिरका व्यवापारीले वुटामै स्याउ खरिद गरेर रस नभरिएका स्याउ बाहिर लगेपछि कृषि विकास कार्यालयले यो वर्ष यसरी व्यवस्थित गर्न खोजेको हो ।
हुम्लामा स्याउको उत्पादन बढ्दै गएपनि उत्पादनपछिको व्यवस्थापन र बजार नियमन अझै चुनौतीपूर्णै छ । विशेषगरी स्याउ पाक्नुअघि नै बजारमा पठाउने होडले तत्काल किसान वा व्यापारीलाई फाइदा पुगे पनि दीर्घकालमा हुम्लाको स्याउको बजार पहिचानमै असर पर्न सक्ने जोखिम छ ।
स्याउको गुणस्तर कायम गर्न गरिएको पछिल्लो निर्णयले भने ‘जति उत्पादन भयो, त्यति बेच्ने’ भन्दा ‘गुणस्तर पुगेपछि मात्रै बेच्ने’ प्रणाली स्थापित गर्न खोजेको देखिन्छ । गुलियोपना परीक्षणलाई निर्यातको आधार बनाउने निर्णय यसैको महत्वपूर्ण पक्ष हो। यसले स्याउको गुणस्तर आँखाले हेरेर वा अनुमानका आधारमा होइन, प्राविधिक परीक्षणबाट निर्धारण गर्ने बाटो खोल्न यस्तो निर्णय गरिएको हो ।
कृषि विकास कार्यालय हुम्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, जिल्लामा कार्यरत सञ्चारकर्मी, जिल्लाका सुरक्षा प्रमुख र सरोकारवाला निकायका प्रमुखहरु सहभागि बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय