सिमकोट । हुम्लाका सातवटा स्थानीय तहमा जेठ १३ गतेदेखि २६ गतेसम्म एक साथ बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो ।
खोप अभियान सञ्चालन गर्नुअघि त्यसको तयारीका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको प्रमुख सिंहले बताउनुभयो । आईपिभी खोप अभियान २०८१ जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण र बहस पैरबी गोष्ठिमा जिल्लाका ६ हजार एक सय ३१ बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने भएको प्रमुख सिंहले बताउनुभयो । पाँच वर्ष माथिदेखि ८ आठ वर्ष मुनिका बालबालिकालाई उक्त खोप लगाइने भएको छ ।
जिल्लामा १ सय ४३ खोप केन्द्र निर्धारण गरिएको छ । भने एक सय ४३ जना स्वास्थ्यकर्मी परिचालित गरिने भएको छ । यस्तै दुई सय ८६ जना स्वयम सेवक परिचालित हुने भएका छन् । सिमकोटमा २६, नाम्खा १५, खार्पुनाथ १७, सर्केगाड ३०, चंखेली २२, अदानचुली १७, ताँजकोट गाउँपालिकामा १६ गरेर १ सय ४३ खोप केन्द्रबाट पोलियो विरुद्धको आईपिभी खोप लगाइने भएको उहाँले बताउनुभयो । यस्तै नाम्खा दुई सय सात, सिमकोट १ हजार २ सय ६१, खार्पुनाथ एक हजार ५७, सर्केगाड एक हजार चार सय ११, चंखेली चार सय ९१, अदानचुली एक हजार ४५ र ताँजकोट गाउँपालिकामा रहेका ६ सय ५९ जना बालबालिकालाई उक्त खोप लगाइने भएको छ । जिल्लामा जम्मा पाँच सय तीस भाइल मात्र खोप उपलब्ध हुने भएको प्रमुख सिंहले बताउनुभयो । पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आईपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । हुम्लामा जिल्ला पनि राष्ट्रिय खोपमा जोडिने भएकाले हर्षदिन भएको र खोप लगाउनका लागि बालबालिका खोजेर लगाइने प्रमुख सिंहले बताउनुभयो ।
खोपको महत्व र प्रभावकारिता सबैले बुझेको हुनाले यसको जलन्त उदाहरणहरु थुप्रै रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो । खोप भनेको हाम्रो शरिर भित्र रहेको डाक्टरलाई दिएको महत्वपूर्ण हतियार हो जुन हतियारले शरिरभित्र रहेका किटाडुसँग लड्ने गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
हुम्लामा पछिल्लो समय खोप लगाउनु पर्छ भन्ने सबैले बुझेको हुनाले स्थानीय तहदेखि राज्यका सबैे पक्षले समयमै खोप पुर्याउन पर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । खोप लगाइसकेपछि देखिने समस्या समाधानका लागि स्वास्थ्यकर्मीको टोलि परिचालित हुनु राम्रो भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
यस्तै आजै भएको सञ्चारकर्मीसँगको अभिमुखिकरण गोष्ठी कार्यक्रममा जिल्ला समन्वय समितिका सरिता रावत, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, प्रहरी नायव उपरिक्षक रविन्द्र खलान, सशस्त्र प्रहरी बलका प्रमुख नेपाल पत्रकार महासंघ हुम्ला शाखा अध्यक्ष राजन रावत लगायत सञ्चारकर्मी स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।