
शिक्षक थिए म, कलम थियो साथ,
ज्ञानको उज्यालो बाँड्थें दिनरात ।
तर हेर विद्यार्थी अब हराए,
मोबाइलको पर्दामा सबै गुमाए ।
“बिउँझन नपाउँदै हात मोबाइलमा,
किताबतिर आँखा नलाग्ने भए,
सपना थियो शिक्षक बन्ने उसको,
मोबाइलमै रुमल्लिएर गुमाएको भए
अब त बोल, विद्यार्थी मेरो,
तँ किन हरायौं यो डिजिटल घेरोरु
उठ् अब उठ् कलम समाउ,
सपना बनाउ, जीवन सजाउ

सिमकोट । हुम्ला जिल्लाकै पुरानो विद्यालय सिमकोटमा रहेको मानसरोवर नमुना माविका शिक्षक धन बहादुर ऐडीले सामाजिक सञ्जालको फेसबुकमा आफ्नो भावना वेदना प्रकट गरेका छन् । आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ । फेसबुक, टिकटक जस्ता प्लेटफर्महरूले विशेष गरी युवाहरूमा गहिरो प्रभाव पारिरहेका छन् । समयको सही प्रयोगले जीवन सफल बनाउन सक्छ भने, गलत दिशामा बगेको समयले सपना चुँडाल्न पनि सक्छ ।
शिक्षक धन बहादुर ऐडीले आफ्नो कथा मोबाइलको लतले बिगारेको सपना मा पोखेका मनका पीडा र सामाजिक सञ्जालमा दर्साएका छन् । मैले धेरै युवाहरूको उज्यालो भविष्य आफ्नै आँखाले अँध्यारोमा हराउँदै देखेँ, किनकि उनीहरूको हातमा किताब होइन, मोबाइलको स्क्रिन हुन्छ । उनको एक सामाजिक सञ्जालमा युवा छात्रको कथा छ, जसले एसईई पछि राम्रो भविष्य बनाउने सपना देखेको थियो । उसले शिक्षक बन्ने, परिवारको अवस्था सुधार्ने, गाउँको नाम उज्यालो बनाउने अठोट लिएको थियो ।
तर बिस्तारै, मोबाइलको लतले उसको ध्यान पढाइबाट हट्यो । टिकटक, गेम, फेसबुक, युट्युब उसले समय यिनैमा खर्चन थाल्यो । अन्ततः, न परीक्षा पास भयो, न सपनाहरू पुरा गर्यो । मोबाइल आफै खराब होइन, तर यसको प्रयोगले दिशा बिगार्दिन्छ भने त्यो लत हो । आजका बालबालिकाले सिक्नुपर्ने उमेरमा मोबाईलको ‘स्क्रिन’को कैदी बनेका छन्, शिक्षक ऐडी आफ्नो दुखेसो पोख्यका छन् ।
उनको भावना केवल साहित्यिक मात्र नभई, सामाजिक सन्देश पनि हो । समाज, अभिभावक, शिक्षक, विद्यार्थी सबैका लागि चेतावनी हो । यदि समयमै सुधार नभए, मोबाइलको लतले एउटा पुस्ताको जिन्दगी नै बर्बाद हुन्छ । शिक्षक ऐडीले शब्दमा पोखेको यो कथा कुनै काल्पनिक होइन, आज हाम्रो वरिपरि घटिरहेको यथार्थ हो । अब समय आएको छ । मोबाइललाई साधनको रूपमा उपयोग गर्ने कि जीवन बिगार्ने नशाको रूपमा बोक्ने भन्ने निर्णय हाम्रो आफ्नै हो । शिक्षक ऐडीले आजका किशोर(किशोरीहरू कसरी मोबाइलको लतमा फसेर पढाइ र भविष्य दुवै गुमाइरहेका छन् भन्ने कुरालाई भावुक शैलीमा प्रस्तुत गरेका छन् । मोबाइल खराब होइन, यसको लत खराब हो । मोबाइल प्रयोग गर्नुहोस्, तर सीमित मात्रामा पढाइ र भविष्यभन्दा माथि कहिल्यै नराख्न शिक्षक ऐडीले आग्रह गका छन् ।

शीर्षक : मोबाइलको लतले बिगारेको सपना
सानो गाउँको एक होनहार केटो थियो – राजु । उसलाई सधैं पढ्न मन पथ्र्यो, शिक्षक बन्ने सपना थियो। बिहानै उठ्थ्यो, किताब खोल्थ्यो, बाबुआमालाई सघाउँथ्यो। विद्यालयमा सबै शिक्षकले गर्व गर्थे उसमा ।
एकदिन स्कुलको साथीले उसलाई मोबाइल दियो –“राजु, यो चलाएर हेर त गेम कस्तो मज्जाको छ !“ राजुले नयाँ कुरा पाएजस्तो चलायो, रमायो । त्यस दिनबाट उसले पढाइभन्दा मोबाइललाई बढी समय दिन थाल्यो।
रातभर गेम, टिकटक, युट्युब। बिहान ढिलो उठ्ने, होमवर्क नगर्ने, कक्षामा झ्याप्प निदाउने। शिक्षकहरूले सम्झाए – “राजु, तिमी यस्तो के गर्दैछौ? तिमी त भविष्यका आदर्श थियौ !“ तर राजु सुनिरहेको थिएन, ऊ मोबाइलको पर्दाभित्र हराएको थियो।
अन्ततः एस.ई.ई. को नतिजा आयो –जहाँ उसले कहिल्यै कल्पना नगरेको कम अंक ल्यायो। सपना? त्यो त मोबाइलको स्क्रिनभित्र कताकता हरायो।
आज ऊ चौकमा मोबाइल रिपेयर गर्ने सानो पसल चलाउँछ। उसको अनुहारमा पछुतो देखिन्छ “सपना त मेरो थियो, तर म त मोबाइलको गुलाम भएछु।“
शिक्षा :
सपना देख्न जरुरी हो, तर त्यसलाई पुरा गर्न धैर्य, मिहिनेत र आत्मअनुशासन अझ जरुरी हुन्छ। मोबाइल प्रयोग गरौं, तर त्यसको लत लाग्न दिनुहुन्न।
३ साभार ।
मोबाइलको लतले युवकको सपना चकनाचुर
शिक्षक धन बहादुर ऐडी
मानसरोवर नमुना मावि सिमकोट हुम्ला ।